फरार ६ थुनुवामध्ये एकजना नियन्त्रणमा, ५ को खोजी जारी

[sharethis-inline-buttons]

जनकपुरधाम :

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवामध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो ।

महतोमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर  सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ५ जनाको खोज तलाश तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ माघ १७, मंगलवार १४:०९