भारतबाट मूल्य बढेर आए पनि आयल निगमलाई मासिक २ अर्ब रुपैयाँ नाफा

[sharethis-inline-buttons]

लुदअ पुस १८, काठमाण्डौ
इन्डियन आयल कर्पोरेशन )आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ ।

भारतले बढाएर पठाएको मूल्यमा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ र डिजलमा सात रुपैयाँ नाफा रहेको छ । निगमले अहिले पनि १५ दिनमा ९९ करोड रुपैयाँ नाफा गर्दै आएको र यही अवस्थामा एक महिनामा एक अर्ब ९८ करोड रुपैयाँ नाफा हुने एक अधिकारीले बताएका छन् ।

अहिले पेट्रोल, डिजलमा मनग्य नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा एक सिलिन्डरमै सात सय रुपैयाँ घाटा भएकाले नाफा बढ्न नसकेको निगमको दाबी छ । निगमले अहिले पनि भारतीय आयल कर्पोरेशन आईओसीलाई ११ अर्ब रुपैयाँ बक्यौता र नेपाल सरकारलाई सात अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थप–घटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।


प्रकाशित : २०७९ पुष १८, सोमबार १३:५१