कांग्रेस संसदीय दलको इतिहासमै सबैभन्दा कम मत पाउने उम्मेदवार बने गगन थापा

[sharethis-inline-buttons]

काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाभन्दा पनि बढी मतका साथ महामन्त्रीमा विजयी गगन थापा संसदीय दलमा भने इतिहासमै सबैभन्दा कम मत पाउने नेता बन्न पुगेका छन्।

बुधबार (६ पुस) बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री थापा २५ मतमा सीमित हुँदा सभापति शेरबहादुर देउवा ६४ मतका साथ विजयी भए।
थापाले प्राप्त गरेको यो मत कुल सदर मतको २८.०८ प्रतिशत हो भने देउवाले प्राप्त गरेको मत ७१.९१ प्रतिशत हो।

राष्ट्रिय राजनीतिमा महामन्त्री थापा सर्वाधिक लोकप्रिय नेता मानिन्छन्। तर, २०५७ यता कांग्रेस संसदीय दलको नेताका लागि भएका निर्वाचनमा थापाले जति कम मत अरु कुनै उम्मेदवारले पनि प्राप्त गरेका छैनन्।

२०४८ मा गिरिजाप्रसाद कोइराला, ०५१ मा शेरबहादुर देउवा, ०५६ मा कृष्णप्रसाद भट्टराईलाई निर्विरोध नेता चयन गरेको कांग्रेसले ०५७ देखि चुनावमार्फत् संसदीय दलको नेता चयन गर्न थालेको हो।

गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका उम्मेदवारका रुपमा ०५६ को निर्वाचनमा अघि सारेपछि भट्टराईले दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए। तर, ०५७ असारसम्म पुग्दानपुग्दै कोइरालाले भट्टराईलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि कांग्रेसमा संसदीय दलको नेताका लागि निर्वाचन हुने परम्पराको सुरुवात भयो।

प्रधानमन्त्री भट्टराईलाई अपमानजनक रुपमा प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारेपछि भएको संसदीय दलको निर्वाचनमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो।

त्यो निर्वाचनमा १ सय १२ मत सदर भएकोमा ६९ (६१.६०) मत प्राप्त गरी कोइराला संसदीय दलको नेता निर्वाचित भएका थिए। पराजित देउवालाई ४३ मत परेको थियो। देउवाले कुल मतको ३८.३९ मत पाएका थियो।

भट्टराईलाई हटाएर संसदीय दलको नेता तथा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला पनि लामो समय सत्तामा रहन सकेनन्। माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरेपछि सिर्जित राजनीतिक विवादका बीच उनी पनि २०५८ असार अन्तिम साता प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भए।

त्यसपछि साउन (०५८) मा भएको संसदीय दलको निर्वाचनमा देउवा विजयी भए।

त्यो बेला प्रतिनिधि सभाका सदस्यमध्ये १ सय १२ मत खसेकोमा देउवाले ७२ (६४.२८) मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी सुशील कोइरालालाई ४० (३५.७१) मत प्राप्त भएको थियो।

माओवादी विजयी भएको पहिलो संविधान सभा (०६४) मा नेपाली कांग्रेसको पराजयका कारण निकै ढिलो (६ असार २०६५) गरी संसदीय दलको नेताको निर्वाचन गरिएको थियो।

सभापति गिरिजाप्रसाद कोइराला समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका थिए। तर, प्रधानमन्त्री बन्ने सम्भावना नदेखेका कारण कोइरालाले संसदीय दलमा प्रतिस्पर्धा गरेनन्।

पहिलो संविधान सभामा देउवा र रामचन्द्र पौडेलबीचको प्रतिस्पर्धामा पौडेलले बाजी मारेका थिए। विजयी पौडेललाई कुल सदर १ सय १० मतमध्ये ६१ (५५.४५ प्रतिशत) मत प्राप्त हुँदा पराजित देउवाले ४९ (४४.५४ प्रतिशत) मत प्राप्त गरेका थिए।

संसदीय दलको नेता निर्वाचित भए पनि माधव नेपालले राजीनामा दिएपछि खाली रहेको प्रधानमन्त्री पदमा पौडेल १७ पटक पराजित हुन पुगेका थिए।

दोस्रो संविधान सभामा नेपाली कांग्रेस पहिलो ठूलो दल भएकाले कांग्रेसबाटै प्रधानमन्त्री बन्ने पक्कापक्की थियो। देउवा त्यो बेला पनि संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा थिए। उनी तत्कालीन पार्टी सभापति सुशील कोइरालाबाट पराजित भए।

कुल सदर मत १ सय ९४ रहेको सो निर्वाचनमा कोइराला १ सय ५ (५४.१२ प्रतिशत) सहित विजयी भएका थिए। पराजित देउवालाई ८९ (४५.८७ प्रतिशत) मत प्राप्त भएको थियो। संसदीय दलको नेता निर्वाचित भएकाले दोस्रो संविधान सभा निर्वाचनपछि कोइराला नै प्रधानमन्त्री बने।

२०७४ को आम निर्वाचनमा वाम गठबन्धनको विजयका कारण कांग्रेसबाट प्रधानमन्त्री बन्ने सम्भावना देखिँदैनथ्यो। तैपनि कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भयो।

०५७ देखि प्रतिस्पर्धा गर्दै आएका देउवाले संसदीय दलको नेताका लागि ०७४ मा पनि प्रतिस्पर्धा गरे। उनी विजयी पनि भए। यसपटक उनका प्रतिस्पर्धी प्रकाशमान सिंह थिए।

विजयी देउवाले ४४ (६९.८४) मत प्राप्त गर्दा पराजित सिंहलाई १९ (३०.१५ प्रतिशत) मात्र प्राप्त भएको थियो।

सिंहले प्राप्त गरेको यो मत प्रतिशतका हिसाबले त्यतिबेला (०७४) सम्म कांग्रेस संसदीय दलको निर्वाचनमा कुनै उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत थियो।

 


प्रकाशित : २०७९ पुष ६, बुधबार २१:४९