रुपन्देही १ मा पुर्व सहयात्रीको भिडन्तमा कस्को पल्ला भारी ?

[sharethis-inline-buttons]

देवदह, २० कात्तिक ।

दुई पुर्व सहयात्री नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन रोचक मोडमा पुगेको छ । एमाले सचिव छविलाल विश्वकर्मा र पुर्व एमाले नेता घनश्याम भुसाल आमनेसामने भएकाले पनि यो प्रतिष्पर्धा धेरैका लागि चासोको विषय बनेको छ ।

एमाले सचिव विश्वकर्मालाई राप्रपा र जसपाले साथ दिएका छन् भने एमाले त्यागेर स्वतन्त्र उम्मेदलवारी दिएका भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा भूसाल भन्दा विश्वकर्मा अगाडि छन् । रुपन्देहीको क्षेत्र नम्वर १ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन । स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धनसंग नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्यि जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लगायतको प्राप्त मत जोड्दा करिव ४० हजार हुन आउँछ ।

यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको स्थानीय तहको प्राप्त मत जोड्दा करिव ५२ हजार रहेको छ । त्यसबाहेक ७ हजार नयाँ मतदाता छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवार बाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारी समेत रहेको छ । तत्कालीन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफुले जित्ने दावी गरिरहेका छन् । दुवै गठबन्धनको मत आफुले प्राप्त गर्ने हँुदा आफनो जित सुनिश्चित रहेको चापागाईको दावी छ ।

यता स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूषालले सत्ता गठवबन्धनको समर्थन रहेकोले आफनो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन् । “स्थानीय तहको मतको आधार मानेर हुँदैन, त्यसयता धेरै परिवर्तन आइसकेको छ”–उनले भने । नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढी मतले आफुले जित निकाल्ने दावी गरे । रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमाले पछि तेश्रो शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ ।

यसैगरी रुपन्देहीको क्षेत्र नम्वर १९१० मा नेपाली काग्रेसका विश्वनाथ यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्प्रर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दावी गरिरहेका छन् । २०७९ को स्थानीय तहको प्राप्त मतलाई आधार मान्दा १९१०मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानल संग करिव २८ हजार मत देखिएको छ । त्यसैगरी क्षेत्र नम्वर १९२० मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली काँग्रेसका अव्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो देखिएको छ । क्षेत्र नं १९२० मा सत्ता गठवबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ ।

 


प्रकाशित : २०७९ कार्तिक २०, आईतवार १९:४७