किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्दै कृषि विकास बैंक, डिजिटल मेसिन प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कृषि विकास बैंक लिमिटेडले किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न लागेको छ । कृषि विकास बैंक लिमिटेडले कपिलवस्तुको बाणगंगा नगरपालिकालाई कृषि सम्बन्धी सम्पुर्ण जानकारी दिने डिजिटल मेसिन (किओस्क) प्रदान गरेको छ । स्थानीय स्तरमा रहेका कृषकहरुलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउन र डिजिटल कृषि सुचना तथा प्राविधिक परामर्श सेवा प्रवाह गराउन बाणगङ्गा नगरपालिका सँगको समन्वय र सहकार्यमा स्थानीय कृषकहरुलाई डिजिटल कृषि प्रविधिमा जोडदै उद्देश्यले उक्त डिजिटल मेसिन (किओस्क) प्रदान गरिएको हो । नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृषकहरुको जीवनस्तर उकास्ने खालको मेसिन प्रदान गर्नुका साथै सम्झौता पनि गरिएको छ ।

जियो कृषिका प्रबन्ध निर्देशक राजनमान बज्राचार्य र बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

किसनालाई कृषि, पशुपालनको ज्ञान, मौसम र बजारको सुचना तथा जानकारी, रोग किराको पहिचान र समाधान सम्बन्धी जानकारी, प्राविधिक परामर्श तथा सहयोग र आवश्यक सुचनाहरुको प्रसार, स्थानीय स्तरमा ईन्टरनेट र स्मार्ट मोवाईलमा पहुंच नभएका कृषकहरुलाई डिजिटल कृषि, पशु सुचना तथा परामर्श सेवा केन्द्र (ई चौतारी) मार्फत सेवा दिने लगायत विभिन्न महत्वपुर्ण कार्यहरु सोहि मेसिनबाट प्रदान कृषकहरुलाई प्रदान गरिनेछ । त्यस्तै यस परियोजना अन्तर्गत कृषक खेतको प्रोफाईल र कृषकको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोहि अनुरुप कृषकले दिन वा हप्तामा गर्नुपर्ने गतिविधि तालिकाको सुचना, मलखाद सम्बन्धी आवश्यक ज्ञान, खर्च लगानीको रेकर्ड लगायत अन्य थुप्रै सेवा सुविधाहरु यस किओस्क मेसिनबाट कृषकहरुले प्राप्त गर्न सक्ने जियो कृषि परियोजनाका कार्यक्रम संयोजक बिनोद विश्वकर्माले बताउनुभयो ।

सम्झौतामा आफ्नो पालिका भित्र सुचिकृत भएका कृषि फर्म, कृषक, कृषक समुहमा आवद्ध किसानहरुलाई जियो कृषि फार्म तथा कृषि विकास बैंक लि. कृषि ज्ञान केन्द्र मोवाईल एप सम्बन्धी अभिमुखीकरण प्रदान गर्ने, यस सुचना प्रणालीलाई व्यबस्थापन गर्न जिम्मेवार व्यक्ति फोकल पर्सन छनोट गर्ने, मेसीनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सुचना सहायता कक्ष स्थापना गर्नुपर्ने जस्ता बाणगंगा नगरपालिकाले गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै डिजिटल कृषि सुचना प्रसारका लागि सम्पुर्ण प्राविधिक पक्षको जिम्मेवारी लिने, सम्बन्धित ठाउँको कृषि, मौसम, बजार तथा रोग किराको पहिचान सम्बन्धी जानकारी किसान, कर्मचारी, प्राविधिक वा सरोकारवालाको मोवाईल एप्स मार्फत प्रदान गर्ने, एप्स र मेसीन सम्बन्धि प्राविधिक जानकारी कर्मचारी प्राविधिकलाई प्रदान गर्ने, कृषिको विस्तार र सुचनाको प्रसारका लागि सरोकारवालासंग सम्नवय गर्ने जस्ता कार्य जियोकृषिले गर्नुपर्ने छ ।

यो सम्झौता आगामी २०८० साउन २५ गते सम्म एक बर्षको लागि गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उप–प्रमुख रीता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आधुनिक कृषि प्रणाली तथा कृषकहरुलाई डिजिटल प्रविधिमा जोड्नका लागि यस परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अधिकतम कृषकहरुले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय रुपन्देहीका प्रमुख राजेश कुमार श्रीवास्तवले कृषि विकास बैंकले विगत देखिनै यस्ता विभिन्न कार्यक्रम गरिरहेको बताउदै कृषकहरुलाई प्रविधिमा जोड्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । उहाँले कृषकहरुलाई ऋण मात्र दिएर नहुने भन्दै उनीहरुका समस्या पहिचान गरि समाधान गर्ने, किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा ध्यान दिने, बजार मुल्यको जानकारी दिने, प्रविधिमा जोड्ने जस्ता बिषयमा ध्यान नदिएमा कृषि क्षेत्रमा गरिएको लगानी खेर जाने र कृषि क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेड जितपुर शाखा प्रमुख पुनाराम खासु, बाणगंगा नगरपालिका विभन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी, जियो कृषि परियोजनामा कार्यरत कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रम कृषि शाखा प्रमुख लेश बहादुर केसीको स्वागत तथा अधिकृत धनिराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ श्रावण २६, बिहीबार १६:५४