आयात प्रतिबन्ध परिमार्जनसहित निरन्तरता : विभिन्न १० वस्तुको आयात भदौ १४ सम्म रोक

[sharethis-inline-buttons]

लुदअ साउन १, काठमाण्डौ
सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ ।

त्यस्तै मदिरा, सुर्तीजन्य वस्तुमा पनि कच्चा पदार्थबाहेक रोक लागेको छ । यस्तै ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका खेलौना, तासको आयातमा रोक लागेको छ ।

 


प्रकाशित : २०७९ श्रावण १, आईतवार ०८:१५